Section 38
माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थामा परिणत हुन सक्ने
(१) तल्लो वर्गको कुनै वित्तीय संस्था एक तह माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थामा परिणत हुन चाहेमा राष्ट्र बैंकले तोकेको विवरण सहित राष्ट्र बैंक समक्ष निवेदन दिनु पर्नेछ ।
तर ‘घ’ वर्गको संस्था माथिल्लो वर्गमा परिणत हुन सक्ने छैन ।
(२) उपदफा (१) बमोजिमको निवेदन र सो साथ संलग्न विवरणहरुको जाँचबुझ गर्दा राष्ट्र बैंकले त्यस्तो वित्तीय संस्थालाई एक तह माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थामा परिणत गर्न उपयुक्त हुने देखेमा देहायका कुराहरुको अधीनमा रही पूर्व स्वीकृति दिन सक्नेछः–
(क) माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले तोके बमोजिमको चुक्ता पूँजी पूरा भएको,
(ख) विगत पाँच वर्षदेखि लगातार राष्ट्र बैंकको निर्देशन बमोजिमको पूँजीकोष पर्याप्तता कायम रहेको, लगातार पाँच वर्ष नाफामा रहेको र विगत पाँच वर्षको औसत निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको,
(ग) प्रारम्भिक खर्च अपलेखन गरिसकेको,
(घ) सार्वजनिक रुपमा निष्काशन गर्नु पर्ने शेयरको निष्काशन भई बाँडफाँट भइसकेको,
(ङ) माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थामा परिणत हुन साधारण सभाले विशेष प्रस्ताव पारित गरेको,
(च) राष्ट्र बैंकले तोकेको अन्य सबै शर्त पूरा गरेको ।
(३) उपदफा (२) बमोजिम पूर्व स्वीकृति प्राप्त गरेका बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्न लगाई यस ऐन बमोजिम राष्ट्र बैंकले माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थाको इजाजतपत्र दिनेछ ।